Logo

राजनीति

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेविसंघः आन्दोलन सशक्त र देशव्यापी बनाउने रणनीति



​​​​​​​

काठमाडाैं – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिविरुद्ध देशव्यापी प्रदर्शन गरिरहेको छ। अान्दोलनलार्इ सशक्त बनाउन केन्द्रीय तहमा पनि अलग–अलग समूह बनाएर प्रदर्शन गरिरहेको नेवि संघले जनाएको छ।

यसैबीच, नेवि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले मूल्यवृद्धिविरुद्ध नेपाल विद्यार्थी संघले शुरू गरेको देशव्यापी आन्दोलनको वेगले केपी ओली नेतृत्वको सरकार थर्कमान भइसकेको दावी गरेका छन्। ओली सरकारको जग हल्लिएको ठहर नेविसंघले गरेको छ।

 नेपाल विद्यार्थी संघ उपत्यकास्तरीय समीक्षा भेलालाई सम्बोधन गर्दै महरले वर्तमान सरकारले गरेको मूल्यवृद्धिले जनताको दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको र जनताको ढाड सेक्ने काम भएकाले  जनताका पक्षमा नेविसंघले देशभर शान्तिपूर्ण आन्दोलन चर्काएको बताएका छन्।

आन्दोलनकै विषयमा समीक्षा गर्न बसेको भेलाले मंगलबार देशभर गरिएको मसालजुलुसमा धरपकड गर्दा कास्की, कैलाली, कञ्चनपुर लगायतका विभिन्न जिल्लाबाट १ सय ५७ जना विद्यार्थी घाइते भएको र शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली, अश्रुग्यास र लाठीचार्ज गरेकाले नेविसंघलाई अापत्ति जनाउँदै थप आक्रोशित बनाएको निष्कर्ष निकालेको छ।

साथै बिहीबार हुने प्रधानमन्त्रीको पुत्ला जलाउने कार्यक्रमलाई थप प्रभावकारी बनाउन आह्वान गरिएको जानकारी अनुराग शाहले जानकारी दिएका छन्।

यसैबीच, कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको जनाउँदै विद्यार्थी संघ निकट विद्यार्थीले काठमाडौंको गोंगबु चोकमा सरकारविरुद्ध प्रदर्शन र नाराबाजी गरेका हुन्।

गोंगबु चोकमा ठूलो संख्यामा निस्केका विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै मूल्यवृद्धि फिर्ता गर, सुशासन कायम गर जस्ता नारा लगाएका थिए।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै झण्डा च्यातिदिएपछि विद्यार्थी आक्रोशित भएका थिए। शान्तिपूर्ण आन्दोलनमा आस्थाको आधारमा प्रहरीले झण्डा च्यात्नु निन्दनिय भएको नेविसंघ नेता निरञ्जन थापाको भनाई छ।

सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्यवृद्धि गलत भएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले बताएका छन्।

नेवि संघ केन्द्रीय समितिको आयोजना र ग्रामिण आदर्श, एनआर र मनोहर क्याम्पसको समन्वयमा भएको प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेको उपस्थिति रहेको थियो।

केपी ओली नेतृत्वको सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। यसको विरोधस्वरुप नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ।

प्रकाशित : ३० जेष्ठ २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल