Logo

आर्थिक

सावधान! खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायन



काठमाडौं – खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ। गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो।

काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो। तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो।

नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकार्बाेनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कार्बाेनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ। ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने।

दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि सोमबार राजधानीका ४ डेरीमा छापा मारिएको समाचार सुरज कुँवरले कान्तिपुरमा लेखेका छन्।

कृषिमन्त्री चक्रपाणि खनालले दूध उत्पादनमा उपभोक्ताको स्वास्थ्यको ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए। ‘सबै मापदण्ड ठीक भएका कुनै पनि दूध देखिएनन्,’ उनले भने, ‘म नयाँ मापदण्ड बनाउँदै छु। के–के गर्नुपर्ने हो, निर्देशन दिइसकेको छु। अब त्यसै छाडिँदैन।’

उनले उद्योग मन्त्रालयसँग मिलेर नयाँ मापदण्ड बनाइरहेको र अब अनुमतिपत्र रद्द गरेरै कारबाही गरिने बताए। दूधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनले बताए। ‘यस्तो पनि राज्य हुन्छ, देशै होइनजस्तो भएको छ मलाई,’ मन्त्री खनालले भने।

प्रकाशित : ३० जेष्ठ २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल