Logo

समाचार

ठाउँ–ठाउँमा चुँडिदैछ एशियाकै दोश्रो लामो दोधारा–चाँदनी झोलुंगे पुल, संरक्षणको दायित्व कसको?



​​​​​​​

कञ्चनपुर । कञ्चनपुरको प्रतिष्ठाकै रुपमा रहेको एशियाकै दोश्रो लामो महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँ–ठाउँमा चुँडिन थालेको छ।

पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन्। एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चुँडिएका छन्।

महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताएका छन्। पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको सिजालीले बताए। पुलका नटबोल्ट र रड खसेका छन्। जाली च्यातिएका छन्।

पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताए। उनले भने, ‘पुल कति बेला टुट्ने हो भन्ने थाहा छैन। कुन दिन भाँचिन्छ भन्ने पिरलो छ।’

महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले मिलेर तत्कालै पुलको मर्मत गर्नुपर्ने उनको भनाइ रहेको छ। ‘कति बेला दुर्घटना हुन्छ, कस्को ज्यान लिने गरी पुल भाँच्चिने हो कुन्नि थाहा छैन,’ उपाध्यायले भने।

पुलको तेस्रो टावर नजिक पुल पूर्णरुपमा भाँचिने अवस्थामा रहेको हुँदा सरकारले प्राविधिक बोलाएर मर्मत सम्भार गर्न लाग्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन्।

महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस (हालको महाकाली नगरपालिका) का स्थानीयबासी १३ वर्ष अघि सदरमुकाम आउजाउ गर्न भारतीय बाटो वनबासाको प्रयोग गर्थे।

भीमदत्त नगरपालिकाको वडा नं १३ र महाकाली नगरपालिका–४ मा पर्ने महाकाली नदीमा वि.सं. २०६१ मा रु नौ करोड ४२ लाख बराबरको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरेका थिए। पुल पर्यटकको आकर्षणका रुपमा समेत रहेको छ।

‘महाकालीमा पक्की पुल निर्माण नहुञ्जेल हामीले झोलुंगे पुलको संरक्षण गर्न आवश्यक छ,’ स्थानीय गगन सिंहले भने। सम्बन्धित निकायको चरम लापर्बाहीका कारण दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल मर्मतको अभावमा चुँडिने अवस्थामा पुगेको उनको भनाइ रहेको छ।

सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको बुझाइ रहेको छ। दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो। अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन्।

पुल बनेपछि जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ।

प्रकाशित : २२ जेष्ठ २०७५, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल