Logo

राजनीति

कांग्रेसलाई ओलीको जवाफ, ‘अरु कैदी जसरी छुट्छन्, बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नुभयो’



काठमाडौं, १६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले  संविधान र कानुन अनुसार चल्ने देशमा भएकोले कसैलाई मनलाग्दी गर्न छुट नभएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको रिहाईका विषयमा कांग्रेसले गरेको आपत्तिको कुनै अर्थ नरहेको बताएको हुन्।

‘निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदीलाई संविधान, नियम कानूनअनुसार अरु कैदीहरु जसरी छुट्छन्, बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नु भएको हो,’ ओलीले भने, ‘यस विषयमा कांग्रेसको आलोचना कानून सम्मत छैन।’ ओलीले कांग्रेसलाई खुद्रा, त्यान्द्रा समाएर राजनीति नगर्न सुझाएका छन्।

नेपालको शान्ति प्रक्रिया दुनियाँका लागि दृष्टान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो कतैबाट आयातीत मोडल नभई आफैँले सिर्जना गरेको मोडल भएको बताएका छन्।

सरकारले ल्याएको बजेट उत्कृष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ छ। वामगठबन्धनले जारी गरेको घोषणा पत्रमा समेटिएका कार्यक्रम बजेटमा सम्बोधन भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले बजेटमा कृषि,उद्योग,ब्यापार लगायतका क्षेत्रमा युगान्त्कारी परिवर्तन आउने कार्यक्रम समेटिएको बताए। कतिपय सडक लगायत विकासका कामहरु प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने भएकोले केन्द्रीय बजेटमा उल्लेख नभएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले सबै सांसदहरुलाई बजेट पुनः अध्ययन गर्न, नुबझेका कुरा अनुभवी र विज्ञ सांसदहरुसँग सोध्न पनि आग्रह गरे।

‘नेकपाका सांसदहरु जनताले चुनेर पठाएका प्रतिनिधि हुन्। उनीहरुले जनताप्रति उतरदायी हुनैपर्छ,’ ओलीले भने, ‘हाम्रो संसदीय दल समय गुजारेर, अलमलिएर बस्ने पल्टन होइन। सधैं क्रियाशील भइरहनुपर्दछ।’

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम केही दिनमै सरकारमा सहभागी हुने बताएका छन्।

प्रकाशित : १६ जेष्ठ २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल