Logo

विश्व

६४ वर्षमा ८ हजारभन्दा धेरै आरोही सगरमाथाको शिखरमा



​​​​​​​

काठमाडौं – सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सर्वोच्च शिखरको आरोहण गरेका थिए।

सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा कतिले सफल अारोहण गरे होला? अनुमान लगाउन गाह्रो छ। तर, नेपाल सरकारको तथ्यांक अनुसार आठ हजारभन्दा धेरैले सगरमाथाको शिखर चुमेका छन्। यस्तै आरोहणका क्रममा २८६ जनाको निधन भएका छन्।

यो वर्षको बसन्त ऋतुमा ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन्। बसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो। यही जेठ ११ गतेसम्म चलेको हो।

सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ। अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ। यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ।

त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ। यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ। विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट रु ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ। सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट रु एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ।

यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ।

यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रित भएका थिए।

सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक–फरक नै छ। विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ। यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ। यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो। आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए।

 कामीरिता शेर्पाको कीर्तिमान

आरोहणको दोस्रो दिन गत वैशाख ३१ गते कामीरिता शेर्पाले कीर्तिमान कायम गरे। उनले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन्। यस्तै पेम्बा दोर्जे शेर्पाले पनि कीर्तिमान कायम गरे।

सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका थिए। पेम्बाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

बाइस पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका कामीरिता शेर्पाको बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका छन्। यसअघि कामीसहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो।

सोलुखुम्बुका कामीरिताले विश्व कीर्तिमान राखेसँगै विश्वभरका सञ्चार माध्यमको ध्यान उनीतर्फ केन्द्रित भएको हो।

बेलायतका प्रसिद्ध गार्डियनको अनलाइन संस्करणमा ४८ वर्षे कामीरिताले कीर्तिमान कायम राखेको विषयलाई महत्वका साथ प्रचार गरेको छ। चौबीस वर्षको उमेरमा सगरमाथा आरोहण शुरु गरेका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसकेका छन्।

अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए। सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए। गत वर्षमा भन्दा यस वर्ष आरोहण सहज देखिएको छ।

विगतमा भन्दा कम क्षति

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको क्रममा तीन जनाको मृत्यु भएको छ। यस्तै हिम पहिरोमा परी एकजना मात्रै बेपत्ता भएका छन्। खुम्बु फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर–२ को खुुम्बु आइसफलमा लडेर घाइते भएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो।

यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो। शिविर तीन पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर तीन माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्पर्क अधिकृत श्रेष्ठकाअनुसार अघिल्ला वर्षमा भन्दा यस वर्षको आरोहणमा कम क्षति भएको छ।

सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो। यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो। यस्तै सन् २०१५ मा २२ आरोहीको मृत्यु भएको थियो। सन् २०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए। यस आधारमा हेर्दा यस पटकको आरोहणमा कम मात्रै मानवीय क्षति भएको श्रेष्ठको भनाइ छ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा विगत वर्ष भन्दा यस पटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षति समेत कम भएको बताउँछन्।

आरोहणका क्रममा बढी सर्तकर्ता अपनाइएको, तालीम प्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूर्ण आरोहणको जानकारीलगायतका कारण पनि क्षति कम भएको उनको भनाइ छ।

आरोहणको रोयल्टीमध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिने पनि पूर्वअध्यक्ष शेर्पाले जानकारी दिए।

प्रकाशित : १३ जेष्ठ २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल