Logo

राजनीति

जननेता मदन भण्डारीको हत्यासम्बन्धी सत्यतथ्य सार्वजनिक गर्ने बेला भएन कामरेड? (हेर्नुहोस् भिडियो)



​​​​​​​

काठमाडौं, ३ जेठ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ‘हत्या प्रकरण’का विषयमा राष्ट्रपति र प्रधानमन्त्रीको जवाफ मागेका छन्।

मदन–आश्रित स्मृति दिवसमा जननेता मदन भण्डारीलाई स्मरण गर्दै कांग्रेसका प्रभावशाली नेता शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न गर्दै जवाफ माग गरेका हुन्।

जननेता भण्डारीको निधनपछि सरकारले गठन गरेको आयोगले मृत्यु भनेपनि तत्कालीन नेकपा एमालेले गठन गरेको छानवीन आयोगले हत्या भएको भनेको स्मरण गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘एमालेले गठन गरेको आयोगका अध्यक्ष कामरेड केपी ओलीले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भन्नुभएको थियो –हत्याराहरु रेशमी पर्दाको पछाडि लुकेका छन्। एकदिन हामी बाहिर ल्याउने छौं। केही समय अगाडि सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मोरङ इटहराको एउटा कार्यक्रममा बोल्दैगर्दा मदन भण्डारीको निधनसम्बन्धी सत्यतथ्य सार्वजनिक नहुनु दुःखद् छ भन्नुभएको थियो। आज मदन भण्डारीको निधनको दिन देशभरिका एमाले पार्टीका साथीहरुलाई अपील र आग्रह गर्न चाहान्छु, –तपाईहरु बोल्नुहोस्, सोध्नुहोस्, सत्यतथ्य साँच्चै सार्वजनिक भएको छैन भने सार्वजनिक गर्ने कहिले?’

राष्ट्रपति भण्डारी शितल निवासमा विराजमान रहेको र ओली प्रधानमन्त्रीको रुपमा मुलुकको नेतृत्व गरिरहेका बेला सत्यतथ्य सार्वजनिक गर्न शर्माको माग छ। ‘सत्यतथ्य अहिले पनि नआउने? त्यसो भए आउने कहिले?,’ उनले प्रश्न गरेका छन्।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको भिडियोमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दिने सम्भावित ३ वटा जवाफको प्रक्षेपण पनि गरेका छन्।

प्रधानमन्त्री भएका बेलामा आज ओली सामू तीन वटा विकल्प रहेको उल्लेख गरेका छन्। शर्माले पहिलो नम्बरमा तत्कालीन सरकारको अनुसन्धान सही थियो भने यो च्याप्टर बन्द गर्ने उल्लेख गरेका छन्।

दोश्रोमा रेशमी पर्दा पछाडि छन् भनेको दोषीलाई कठघरामा उभ्याउने र तेश्रोमा समयलाई मध्यनजर राख्दै गोलमटोल कुरा राख्ने भनेर व्यंग्य पनि गरेका छन्।
साथै, राष्ट्रपति भण्डारी चाहिँ न्याय माग्ने र प्रधानमन्त्री नजर अन्दाज गर्ने? भन्दै प्रश्न पनि उनले गरेका छन्।

प्रवक्ता शर्माले मदन भण्डारीको आवश्यकता बोध भइरहेको बताएका छन्। मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं भन्ने मान्यताका साथ नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने मदन भण्डारीले लामो समय राजनीतिमा क्रियाशील हुन नपाउनु दुर्भाग्य रहेको शर्माको विश्लेषण छ।

‘आज जेठ ३ गते। २५ वर्ष भएको छ, कामरेड मदन भण्डारी र उहाँका सहयोद्धा जीवराज आश्रितको निधन भएको। मेरो मन पर्ने खाजा मम हो र मन पर्ने नेता वीपी कोइराला भन्नु हुने मदन भण्डारी लामो समय नेपालको राजनीतिमा क्रियाशील हुन नपाउनुको दुभाग्य हामी महसुस गर्न सक्छौं,’ प्रवक्ता शर्माले भिडियोमा भनेका छन्।

प्रकाशित : ३ जेष्ठ २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल