Logo

साहित्य

मदन–आश्रितको सपना साकार पारेरै छोड्छौंः केपी ओली



काठमाडौं, ३ जेठ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल नयाँ मोडमा अघि बढेको बताएका छन्।

२५औं मदन आश्रित स्मृति दिवसमा आज बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारी २०औं शताब्दीलाई सबैभन्दा बढी प्रभावित पार्न सक्ने राजनीतिज्ञ भएको बताएका छन्।

‘तर, मदन भण्डारीका विचारले २१औं शताब्दीलाई झन् बढी प्रभावित गर्नेछन्,’ ओलीले भने ‘२५ वर्षअघि मदनले कम्युनिष्ट एकताका नाममा खनेको गोरेटो आजैबाट छ लेनको सडक बन्दैछ।’

प्रधानमन्त्री ओलीले एमाले माओवादी एकता केवल दुई पार्टीको मिलन मात्र नभएको बताए। उनले एकताले नेपालमा एउटा राजनीतिक, सामाजिक, आर्थिक रुपमा ठूलो उपलब्धी हासिल गर्ने बताए।

‘हाम्रो एकतालाई केवल दुई पार्टीको मिलनको रुपमा मात्र हेरिनु हुँदैन,’ ओलीले भने, ‘यो एकता दुई वटा साना अणुको मिसिँदा कसरी शक्तिशाली बिस्फोटक पदार्थ बन्दछ। त्यस्तै हो यो एकता।’

पार्टी एकता भएपछि नेपालमा इतिहासमै सबभन्दा बढी जनमत भएको पार्टी र सरकार हुने प्रधानमन्त्री ओलीले बताए। ओलीले नेपाली कांग्रेस अब प्रतिष्पर्धी पार्टी नभएर सहयोगी पार्टी मात्र भएको बताए। ‘नेपाली कांग्रेस अब प्रतिष्पर्धी हालतमा रहेन। यो त केवल सहयोगी पार्टीको रुपमा रह्यो। देश विकासमा यसलाई हामीसँगै लिएर अगाडि बढ्छौं,’ ओलीले भने।

समृद्ध नेपाल सुखी नेपालीको चाहना पुरा गर्न पार्टी एकताले थप बल पुग्ने ओलीको भनाइ छ। कम्युनिष्टहरु जुट्न होइन फुट्न मात्र जान्दछ भन्ने भ्रम आजैबाट हटेको ओलीको टिप्पणी छ।

‘इतिहासले हामीलाई दिएको गहन अभिभारा शालिनतापूर्वक पूरा गर्छौं,’ ओलीले भने, ‘मदन–आश्रितले देख्नु भएको सपना हामीले साकार पारेर छोड्छौं।’

कार्यक्रममा  प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत दुवै पार्टीका नेता कार्यकर्ताहरुले मदन–आश्रितको तस्वीरमा माल्यार्पण गरेका छन्।

प्रकाशित : ३ जेष्ठ २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल