को हुन् अकोधारी र खराउ पूजारीविरुद्ध उभिने शिव प्रकाश?


काठमाडौं – जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी। मर्यादा पुरुषोत्तम भगवान रामले लंकामा विजयी हासिल गरिसकेपछि आफ्ना कान्छा भाइ लक्ष्मणलाई सुनको मुलुक र आफ्नो जन्मभूमि बीचको भेद संस्कृतको यही स्लोकबाट प्रष्ट्याइदिए।

आमा र जन्मभूमि स्वर्गभन्दा पनि श्रेष्ठ हुन्छ भनेर आफ्ना भाइलाई भगवान रामले दिएको उपदेश आजपर्यन्त उत्तिकै हृदयस्पर्सी र मननीय छ। सामाजिक अभियन्ता, साहित्यकार तथा लेखक शिव प्रकाशलाई पनि यस्तै लाग्छ। उनी भन्छन्, ‘हो, नेपाल मेरो देश हो, मातृभूमि हो, मेरी आमालाई श्रद्धा गर्नु मेरो दायित्व हो।’

शिव प्रकाश अहिले संयुक्त राज्य अमेरिकामा बस्छन्। केही गर्नु छ भने परदेश जानुपर्छ भनेझैं उनी पनि परदेशिएका छन्। तर, फुर्सद निकालेरै भएपनि उनी वर्षमा एक पटक नेपाल आउँछन्। रित्तो हात आउँदैनन् उनी। कहिले आफू पढेको स्कूललाई कम्प्युटर र शैक्षिक सामग्री लिएर आउँछन्।

कहिले भूकम्प, बाढी र अन्य कुनै समस्यामा परेका नागरिकका लागि आफ्नो गाँस काटेर जोगाएको कोशेली बोकेर आउँछन्। आशा र भरोशासँगै एउटा उत्साह लिएर आउँछन्, उनी।

काठमाडौंमा भेटेजति युवालाई उत्प्रेरणा भरेर एक वर्षका लागि फेरि अमेरिका फर्किन्छन्। शिव प्रकाशको दैनिकी यसरी नै चलिरहेको छ। ‘हामी जहाँ बसेपनि हुन्छ,’ उनी भन्छन्, ‘तर, हामीले अाफ्नाे दायित्व कहिल्यै बिर्सिनु हुँदैन, अाफ्नाे काम गरिरहनुपर्छ।’

एसएलसी पास गरेको ६ वर्षपछि भारतको इलाहावादमा गएर पढाई प्रारम्भ गरेको उनले सम्झिँए।

पाँचथरबाट मोरङ, पढ्ने रहर अधुरै!

वि.सं. २०२१ भदौं ८ गतेको दिन आमा चन्द्रमायादेवी पौड्याल र बुवा हरिप्रसाद पौड्यालका सुपुत्रका रुपमा शिव प्रकाशको जन्म भएको हो। उनको पुर्ख्याैली थलो पाँचथर जिल्लाको यासोक हो।

पौड्याल दम्पत्तीका चार सन्ततीमध्ये साइला छोरा हुन् शिव प्रकाश। उनको परिवार वि.सं. २०२४ सालमा बसाइँ सरेर मोरङको हरैँचा आएको हो। हरैँचाकै जनता माविबाट उनले वि.सं. २०३७ सालमा एसएलसी परीक्षा पास गरेका हुन्।

एसएलसी परीक्षा उत्तीर्ण गरेपछि शिव प्रकाश कृषिमा लागे। ‘पढ्न जाँगर चलेन, एसएलसीपछि ६ वर्ष हलो जोतें, माछापालन गरें,’ उनले भने।

कृषिमा व्यावसायिक जीवन चलिरहेकै बेला एकदिन शिव प्रकाशलाई पढ्ने इच्छा जाग्यो। ‘पढाई हतियार हो, हतियारको काम जति बेला पनि आउन सक्छ,’ उनको तर्क छ। एसएलसी पास गरेको ६ वर्षपछि भारतको इलाहावादमा गएर पढाई प्रारम्भ गरेको उनले सम्झिँए।

शिव प्रकाशले सन् १९८४ मा व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह पूरा गरेपछि सन् १९८५ स्नातक तहको अध्ययन प्रारम्भ गरे। नियमित उत्तीर्ण गरेपछि उनले स्नातकोत्तर पढ्न त शुरू गरे। तर, पूरा चाहिँ गर्नै पाएनन्।  त्यसबीचमा शिव प्रकाशले जाेत्श्यना मिश्रसँग विवाह गरे। शिव प्रकाश र जाेत्श्यनाका एक छाेरा छन्, साैरव।

‘नेपाल फर्किएर गल्ती गरेँजस्तो पनि लाग्यो,’ उनले भने, ‘तर, विधिविधान विरुद्ध जान मलाई मन लागेन।’

खेलकुद परिषद्का जागिरे

शिव प्रकाशले स्नातक तहसम्म पढाई त पूरा गरे। अब के गर्ने? प्रायः आमनेपाली युवाझैं उनी पनि सरकारी जागिर खान पुगे। राष्ट्रिय खेलकुद परिषद्मा अधिकृत भएर काम थालेका शिव प्रकाशले सन् १९९३ मा एसियाड प्रतियोगिताका दौरान जापान जाने अवसर प्राप्त गरे।

‘जापानको विकास र समृद्धिले लोभ्यायो, केही साथीहरुले महिनाको एक लाख रुपैयाँसम्म कमाई गरिरहेको पनि सुनाए,’ शिव प्रकाशले सम्झिँए, ‘एक मनले त जापानमै बस्नु रहेछ जस्तो लाग्यो।’

तर, अाफ्नाे कर्मलार्इ धर्म मान्ने शिव प्रकाश जापान बसेनन्। नेपाल फर्किए उनी। ‘नेपाल फर्किएर गल्ती गरेँजस्तो पनि लाग्यो,’ उनले भने, ‘तर, विधिविधान विरुद्ध जान मलाई मन लागेन।’

‘सांघातीक आक्रमणपछि ६ दिन अस्पताल बस्नुपर्यो, त्यसपछि जागिरमा रहिरहन सक्छुजस्तो लागेन,’ उनले भने।

व्यवस्थापनबाटै सांघातीक आक्रमण

मुलुकको स्थितिबाट त्यति बेला चाहिँ शिवप्रकाशलाई अति नै चित्त दुख्यो, जब उनले राष्ट्रिय खेलकुद परिषद्मा सुधारको पक्षमा आवाज उठाउँदा सांघातीक आक्रमणमा परे।

‘खेलकुद परिषद् चाकडी गर्ने र गुण्डाहरुको अखडा थियो, त्यहाँँको विकृतिविरुद्ध बोल्ने कोही थिएन,’ उनले भने।

शिव प्रकाश सुशासनको पक्षपाती हुन्। खेलकुद परिषद्मा पनि उनले त्यही सुशासनका लागि आवाज उठाएरका थिए।

तर, भ्रष्टहरुको अखडाका रुपमा ख्याती कमाएको राखेपको व्यवस्थापनले नै शिव प्रकाशमाथि आक्रमण गर्न लगायो। ‘सांघातीक आक्रमणपछि ६ दिन अस्पताल बस्नुपर्यो, त्यसपछि जागिरमा रहिरहन सक्छुजस्तो लागेन,’ उनले भने।

शिव प्रकाशले खेलकुद परिषद्बाट बिदा लिए। र, उनले सन् १९९९ को जुलाईमा भिजिटिङ भिसामा संयुक्त राज्य अमेरिकाको उडान भरे। ‘भिसा अवधि सकिएपनि उदार मुलुक अमेरिकामा बस्न समस्या हुँदैन,’ उनले भने, ‘बस्दै गएपछि ग्रीनकार्ड प्राप्त भयो, मलाई काम गर्न पनि कुनै समस्या भएन।’

‘विजयकुमारको कोसिस अभियान मलाई मन पर्यो, काम पनि ठिक गरेकाले सोही संस्थालाई रकम उपलब्ध गराएँँ।’

सामाजिक कार्यमा सक्रिय शिव प्रकाश

शिव प्रकाश दशैं मनाएलगतै अमेरिका फर्किए। अमेरिकामा बसेपनि जन्मभूमिको स्थितिप्रति उनी उत्तिकै चिन्तित छन्। नेपाल र नेपालीलाई कँही–केही हुँदा अपील गर्छन्, आवाज उठाउँँछन्। र, मनैदेखि सहयोग गर्छन्। आफ्नो कमाईको अंश विपद्मा परेका मानिसलाई सहयोग गर्न उनी पछि पर्दैनन्।

वि.सं. २०७२ सालको भूकम्पबाट थिल्थिलो भएको नेपाली समाजका लागि शिव प्रकाशले १० हजार डलर सहयोग गरे। ‘मैले खराउ पूजारी संस्थाहरुलाई दिइनँ,’ उनले भने, ‘विजयकुमारको कोसिस अभियान मलाई मन पर्यो, काम पनि ठिक गरेकाले सोही संस्थालाई रकम उपलब्ध गराएँँ।’

भूकम्पपीडितलाई सहयोग गरेका शिव प्रकाशले मोरङको हरैँचास्थित जनता माविलाई १० थान कम्प्यूटर प्रदान गरेका छन्। उनले नाङ्गा खुट्टाले स्कूल आउने बालबालिकालाई छात्रवृत्ति प्रदान गर्नका लागि अक्षयकोषको स्थापना गरेका छन्।

शिव प्रकाशले २४ लाख रुपैयाँभन्दा धेरै रकम त व्यक्तिगत रुपमा सहयोग गरिसकेका छन्। तर, उनी प्रचार गर्न चाहँदैनन्। चुपचाप काम गरिरहन्छन्। यही स्वभावले नै शिव प्रकाशलाई निर्भिक सामाजिक अभियन्ताका रुपमा स्थापित गरेको छ।

बौद्धिक जगतका धेरै साथीसङ्गीहरुलाई पनि उनी त्यहाँ बोलाउँथे। र, डा. केसी आन्दोलनलाई समर्थन गर्न प्रेरित गर्थे। 

परदेशमा बसेर मातृभूमिको चिन्तन

शिव प्रकाश अहिले नेपालमा छैनन्। उनी संयुक्त राज्य अमेरिकाको एउटा कुनामा बसेर पेटखेती गरिरहेका छन्।

मनमा राष्ट्रप्रेम र मातृभूमिको तस्वीर लिएर अमेरिकामा संघर्ष गरिरहेका शिव प्रकाश नेपालको राजनीति, शिक्षा, स्वास्थ्यदेखि जनसरोकारका हरेक विषयमा खबरदारी गरिरहेका हुन्छन्।

दशैं मनाउन छुट्टी लिएर आएका शिव प्रकाशलाई घरमा बसेर रमाइलो गर्ने छुट थिएन। किनभने प्रा.डा. गोविन्द केसी शिक्षण अस्पताल महाराजगञ्जमा तेह्रौं पटकको आमरण अनशनमा थिए।

शिव प्रकाश प्रा.डा. केसीको सत्याग्रहलाई समर्थन गर्न सपरिवार पुग्थे। बौद्धिक जगतका धेरै साथीसङ्गीहरुलाई पनि उनी त्यहाँ बोलाउँथे। र, डा. केसी आन्दोलनलाई समर्थन गर्न प्रेरित गर्थे।

‘म परदेशमा छु, तर नजर र मन नेपालमै छ,’ शिव प्रकाश भन्छन्, ‘मुलुकको स्थिति सम्झिँदा बिरक्त लागेर आउँछ, रुन मन लाग्छ, हाम्रो देश सीमानाले मात्रै बाँचेको छ, भावनाले बाँच्न सकेको छैन।’

राजनीतिक दलका नेताको दुर्नियतसँग त शिव प्रकाश खेलकुद परिषदमै काम गर्दा नै परिचित भइसकेका थिए। अहिले झन प्रष्टसँग देखिने गरेको उनको धारणा छ।

‘राजनीतिक दलभित्र रहेका मान्छेले आफूलाई मान्छेको रुपमा उभ्याउन सकेनन्,’ उनले प्रश्न गरे, ‘युवा पुस्ताका नेता पनि पूरानो पुस्ताकै पदचापमा हिँडेपछि देश कसरी बन्छ?, सोच कसरी बदलिन्छ?’

दुराचारी, भ्रष्टाचारी, माफियातन्त्रले मुलुकलाई गाँजेको टिप्पणी गर्दै शिव प्रकाशले यसलाई भत्काउन दोश्रो पुस्ताका नेताहरुमाथि दायित्व सुम्पिनु पर्ने धारणा राखेका छन्।

‘एउटा डाक्टरले १३औं पटकसम्म सत्याग्रह गर्छन्, राज्यसँग सम्झौता पनि हुन्छ,’ उनी भन्छन्, ‘सम्झौता कार्यान्वयनमा सधैँ बेइमानी हुन्छ, यो माफियातन्त्रकै खेलको उपज हो।’

‘अमेरिकामा खराउ पुजारीको गोठ छ,’ शिव प्रकाशले शुभदिनसँग भने, ‘राजनीतिक र सामाजिक विकृति ल्याउन तिनै खराऊ पुजारीहरु जिम्मेवार छन्।’

अकोधारी र खराउ पुजारीविरुद्धको अभियान

सामाजिक अभियन्ता एवम् लेखक शिव प्रकाशले सामाजिक र राजनीतिक विकृतिविरुद्ध अलि पृथक आन्दोलन–अभियानको थालनी गरेका छन्।

अमेरिकामा पनि सामाजिक अभियानका लागि भनेर स्थापना गर्ने र कमाऊ धन्दामा लाग्ने संघसंस्थालाई रहेकाे उनी बताउँछन्। यस्ता संस्थालार्इ उनी खराऊ पूजारीकाे गाेठ भन्छन्।

‘अमेरिकामा खराउ पुजारीको गोठ छ,’ शिव प्रकाशले शुभदिनसँग भने, ‘राजनीतिक र सामाजिक विकृति ल्याउन तिनै खराऊ पुजारीहरु जिम्मेवार छन्।’

शिव प्रकाशले अर्को राजनीतिक र सामाजिक विकृतिलाई ‘अकोधारी’ उपमा दिएका छन्।

‘लाज, घिन, शरम, डर सबै त्यागेर आफ्नै अण्डकोशका माला लगाएर हिँड्छन्, यिनलाई म अकोधारी भन्छु,’ उनी भन्छन्, ‘जो समाजसेवी, नेता, कवि र लेखक पनि बनेका छन्, हाम्रो समाजमा नेतादेखि सामाजिक सेवामा लाग्छु भन्नेहरुसम्मको अवस्था यही नै छ।’

चाेटिलाे र सटिक लेख लेख्ने शिव प्रकाशका गीति संग्रह तथा थुप्रै पुस्तक प्रकाशित छन्।

शिव प्रकाशको धारिलो कलम!

लेखक तथा सामाजिक अभियन्ता शिव प्रकाश सानो दायरामा सीमित छैनन्। नेपालका प्रमुख अखबारमा नियमित रूपमा चाेटिलाे र सटिक लेख लेख्ने शिव प्रकाशका गीति संग्रह तथा थुप्रै पुस्तक प्रकाशित छन्।

वि.सं. २०५४ सालमै गीति संग्रह ल्याएका शिव प्रकाशको पहिलो कथा संग्रह ‘जैमली’ वि.सं. २०६६ सालमा प्रकाशित भयो।

घागी कथा संग्रह २०७२ सालमा प्रा.डा. गोविन्द केसीको हातबाट विमोचन गराएका शिव प्रकाशले व्यङ्ग संग्रह गोलमाल र जय नेताजी तथा खेलकुदसम्बन्धी पुस्तक प्रकाशित गरिसकेका छन्।

शिव प्रकाशको नयाँ कृति पनि चाँडै आउँदैछ। ‘कहाँ हुन्छ देश’ वृतचित्र पनि उनले निर्माण गरेका छन्। यी सबै नेपालसँग सम्बन्धित छन्।

‘मलाई नेपाली माटोप्रतिको प्रेमले कहिल्यै थाक्न दिँदैन, देश सम्झिँने बित्तिकै केही गर्ने जोश आइहाल्छ,’ शिव प्रकाश भन्छन्, ‘जन्म दिने आमा र आफू जन्मेको ठाउँ प्राणभन्दा प्यारो हुन्छ, अलि पर बसेर नेपाललार्इ हेर्दा मात्रै त्याे कुराकाे अनुभूति हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: