धनकुटा राजारानीलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा, उज्ज्वलको ह्याट्रिक


पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकप

पाँचथर, चैत २८ – उज्ज्वल राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्बल पाँचथरको रविमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

पुलिसले मंगलबार सम्पन्न खेलमा राजारानी धनकुटालाई ४–३ गाेलअन्तरले पराजित गरेको हो। निक्कै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ११औं मिनेटमा गोल गर्दै उज्ज्वलले पुलिसलाई अग्रता दिलाएका थिए।

त्यसपछि अझ आक्रामक देखिएको पुलिसका लागि जर्सी नम्बर–१२ का विकाश विकले फ्रि–किकमार्फत दर्शनीय गोल गर्दै पहिलो हाफमा टिमको अग्रता दोब्बर बनाएका थिए।

पहिलो हाफमा २–० ले पछि परेको राजारानीले दोश्रो हाफको ७औं मिनेटमा जर्सी नम्बर–१७ का मिलन राईको फ्रि–किकमार्फत गोल गर्दै अग्रता कम गरेको थियो।

तर, त्यसको ५ मिनेट पनि बित्न नपाउँदै पुलिसका जर्सी नम्बर–१० का उज्ज्वलले गोल गर्दै टिमको अग्रता ३–१ को अवस्थामा पुर्याए। लगत्तै तीन मिनेटपछि राजारानीका लागि पुनः फ्रि–किकमार्फत दर्शनीय गोल गर्दै मिलनले नै अग्रता कम गरे।

त्यसपछि अझ उत्कृष्ट खेल प्रदर्शन गरेको उसका लागि २६औं मिनेटमा कप्तान सुरेन खवासको फ्रि–किकमा जर्सी नम्बर–१० का सुसन तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

तर, खेल सकिन केही सेकेण्ड मात्र बाँकी भएको अवस्थामा डिबक्सभित्र पाएको अवसरलाई हेडमार्फत गोल गर्दै उज्ज्वल राईले पुलिसलाई सेमिफाइनलसम्म पुर्याएका हुन्। खेलको म्यान अफ दि म्याच फ्रि–किकमार्फत दुई गोल गरेका पराजित राजारानीका जर्सी नम्बर–१७ का मिलन राई घोषित भए।

पुलिसले अब अन्तिम दुईमा प्रवेशका लागि आगामी बिहीबार राष्ट्रिय जागृति सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ। बुधबार अन्तिम दुईमा प्रवेशका लागि डिफेण्डिङ च्याम्पियन बिबिएफसी झापा र मोरङ युनाइटेड प्रतिस्पर्धा गर्नेछन्। खेल दिउँसो तीन बजेबाट शुरु हुनेछ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले एक लाख प्राप्त गर्नेछन्। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना राइजिङ स्टार स्पोर्टिङ क्लबले गरेको हो।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: