बहुअायामिक व्यक्तित्व, प्रेरक संघर्षः राजनीतिज्ञ मात्रै होइनन् विश्वप्रकाश शर्मा


काठमाडाैं – वि.सं. २०४५ साल वैशाख १२ गतेका दिन देशभरि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावी परिणाम वैशाख अन्तिम साता आइसकेको थियो। झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनको मतपरिणामले राजनीतिक तरङ्ग पैदा गरेको थियो।

त्यहाँको प्रचलन अनुसार चुनावमा अखिल विजयी हुने नेपाल विद्यार्थी संघ हार्ने र नेवि संघको कित्ताबाट विजयी खेमामाथि आक्रमण हुने गर्थ्यो। त्यसपछि क्याम्पस बन्द हुने र एक महिना जति अशान्त क्षेत्र भएर मेची क्याम्पस बल्लतल्ल खुल्ने ‘परम्परा’ नै थियो।

त्यो चित्रलाई बदल्दै वि.सं. २०४५ सालको वैशाख १२ गतेको निर्वाचन परिणाम आएकै दिन नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति विश्वप्रकाश शर्माले घोषणा गरे, ‘हामी विजयी भएको अनेरास्ववियुको टिमलाई एक साता पछाडि बधाई ज्ञापन समारोह राख्ने छौं। र, यहाँको हलमा समारोह गरी बधाई ज्ञापन गर्ने छौं।’

त्यो वर्ष स्ववियु चुनावपछि पहिलेजस्तो जीतहारको कुनै भिडन्त भएन। किनभने क्याम्पस इकाई सभापति विश्वप्रकाश शर्मा थिए। उनले अगाडि नै ‘जित्नु–हार्नु लोकतान्त्रिक अभ्यास हो’ भनिसकेको थिए। शर्माको उद्घोष थियो, ‘हामी पञ्चायती व्यवस्था ढालेर त्यस्तो लोकतान्त्रिक व्यवस्था ल्याउन चाहान्छौं कि जहाँ जित्नेले हार्नेको हातबाट माला लगाउन पाउँछन्। र, हार्नेले सहयोगी भूमिका निभाउँछन्।’ शर्माले अगाडि भनेका थिए, ‘र, जित्नेले चाहिँ प्रतिपक्षलाई साथमा लिएर जिम्मेवारी पूरा गर्नेछन्।’

‘हामी पञ्चायती व्यवस्था ढालेर त्यस्तो लोकतान्त्रिक व्यवस्था ल्याउन चाहान्छौं कि जहाँ जित्नेले हार्नेको हातबाट माला लगाउन पाउँछन्। र, हार्नेले सहयोगी भूमिका निभाउँछन्।’

त्यसो भन्दै गर्दा विश्वप्रकाश शर्माले घोषणा गरेअनुसार नै भव्य कार्यक्रम भयो। विश्वप्रकाशले आफ्नै हातले ११ वटा माला विजयी भएका अखिलनिकट विद्यार्थीलाई लगाइदिए। शुभकामना आदानप्रदान भयो, अंकमाल भयो। क्याम्पसको परिस्थिति नै बदलियो। अनि सद्भाव र एकताको सन्देश दिए उनै विश्वप्रकाशले।

त्यतिबेला फेसबुकको जमाना थिएन। सामाजिक सञ्जाल थिएनन्। मिडिया पनि थिएनन्। सञ्चारको पहुँच हुँदो हो त, विश्वप्रकाशको पहलमा भएको यो कार्य राष्ट्रव्यापी समाचार बन्थ्यो।

सकारात्मक भाव राख्नेहरुलाई समाजले सजिलै स्वीकार गर्छ। हो, विश्वप्रकाश वि.सं. २०४५ सालमा पराजित भए। तर, अर्को वर्षसम्ममा उनले मेची क्याम्पसका हजारौं विद्यार्थीको मनमा बास गरिसकेका थिए। र, उनले अर्को निर्वाचनमा नेवि संघलाई जित्ने स्थितिमा पुर्याइदिए। र, पहिलो पटक मेची क्याम्पसमा नेवि संघले स्ववियुमा जीतको जग बसाल्यो।

र, गत साल सम्पन्न स्ववियु निर्वाचनमा नेवि संघको प्यानलले नै मेची क्याम्पसको नेतृत्व गरिरहेको छ। सभ्य र आधुनिक संस्कारको जग बसाएकैले उनले त्यो परिणाम दिन सकेका हुन्।

विश्वप्रकाश शर्माको त्यो संस्कार आजपर्यन्त जीवित छ। राजनीतिक जीवनमा विश्वप्रकाशले सधैं जितेका छैनन्। उनी पराजित पनि हुन्छन्। तर, लोकतन्त्रलाई जीवित राख्न उनी फेरि मुसुक्क हाँस्दै उठ्छन्। र, अघि बढ्छन्। लामो राजनीतिक जीवन तय गर्नुछ उनलाई। त्यसैले विश्वप्रकाशको मुहारमा कहिल्यै पनि थकान, क्रोध र घमण्ड देखिँदैन। उनी बालबालिकासँग पनि उत्तिकै मिजासका साथ कुरा गर्छन्। जेष्ठ नागरिकलाई सम्मान गर्न त विश्वप्रकाशबाट सिक्नै पर्ने गुण हो।

वि.सं. २०६८ सालमा विश्वप्रकाश झापा कांग्रेसको सभापतिमा पराजित तुल्याइए। विजयी उद्धव थापालाई त्यसैगरी माला पहिर्याए, शुभकामना दिए।

वि.सं. २०६८ सालमा विश्वप्रकाश झापा कांग्रेसको सभापतिमा पराजित तुल्याइए। विजयी उद्धव थापालाई त्यसैगरी माला पहिर्याए, शुभकामना दिए। उनै विश्वप्रकाश फेरि पराजित भए झापा क्षेत्र नम्बर–१ मा संविधानसभाको दोस्रो निर्वाचनमा। त्यति नै बेला विपक्षी उम्मेद्वार रविन कोइरालालाई फोन गरे। मतगणनास्थलमै बोलाए, अंकमाल गरे र माला लगाउँदै बधाई दिए।

यही सद्भाव र शुभेच्छाका सिँढी चढ्दै विश्वप्रकाश शर्मा अब झापा क्षेत्र नम्बर–१ मा उम्मेद्वार हुँदैछन्। फरक यति छ, अघिल्लो निर्वाचनमा जितेका उम्मेदवार अहिले चुनावी दौडमा छैनन्।  विश्वप्रकाशले नयाँ उम्मेदवारसँग प्रतिष्पर्धा गर्नु छ।

प्रतिष्पर्धा गर्दै–गर्दा राजनीतिक दलका उम्मेदवारको राजनीतिक चरित्र, राजनीतिक भूमिका र राजनीतिक जिम्मेवारीका विषयमा चर्चा हुन्छ। कार्यक्रम र भाषणका बारेमा पनि बहस हुन्छ। तर, शुभदिन मिडियाले राजनीतिक दलका उम्मेद्वारहरुको भिन्नता खोतल्ने प्रयास गर्दै छ। यसै क्रममा विश्वप्रकाश शर्माको राजनीतिक जीवनभन्दा अलि परको सामाजिक, आर्थिक र संस्कारको पाटो प्रस्तुत गरिएको हो।

वि.सं. २०५७ सालमा निर्वाचित भएका विश्वप्रकाशले घोषणा गरे, ‘म दुई वर्ष अर्थात् ३६५ र अर्को ३६५ दिनका लागि सभापति भएको हुँ, म त्यति नै दिन यो पदमा बस्छु।’

थिति बसाल्ने विश्वप्रकाश

विश्वप्रकाश शर्मा स्कूल इकाई सभापतिदेखि केन्द्रीय सभापतिको जिम्मेवारीसम्म पुग्ने सायदै एक्ला व्यक्ति हुन्। उनी सभापति भएपछि भनेको कार्यकाल अवधिभन्दा कम पनि गरेनन्। न त, बढी नै शासन गरे।

नेवि संघको सभापतिमा वि.सं. २०५७ सालमा निर्वाचित भएका विश्वप्रकाशले घोषणा गरे, ‘म दुई वर्ष अर्थात् ३६५ र अर्को ३६५ दिनका लागि सभापति भएको हुँ, म त्यति नै दिन यो पदमा बस्छु।’

नभन्दै उनले दुई वटा ३६५ दिन पुग्नुभन्दा एक साताअगाडि नेवि संघको महाधिवेशन गरेर नयाँ कार्यसमिति बनाए। नयाँ सभापतिलाई जिम्मेवारी सुम्पिए। नयाँ सभापति ल्याउने प्रकिया पूरा गरे। सम्भवतः अहिलेसम्ममा कार्यकाल पूरा हुनुअघि नै महाधिवेशन गराउने नेवि संघको पहिलो सभापति विश्वप्रकाश नै हुन्।

शर्माले घाेषणा गरे, ‘हामी भूकम्पबाट भत्किएका घर बनाउन जाँदा पार्टीको झण्डा बोकेर जादैनौं।’ उनले कांग्रेससँगै सबै दलका कार्यकर्तालाई मिलाएर जाने अवधारणा बनाए।

भूकम्प प्रभावित क्षेत्रमा मेची अभियान

विश्वप्रकाश कहिलेकाँही फरक शैलीमा पनि देखिन्छन्। अलग विचार नै उनको राजनीतिक उचाईको दरिलो स्तम्भ हो। वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात कांग्रेसले आफ्नो दस्ता प्रभावित क्षेत्रमा घर बनाउन पठायो। एमालेले पनि पठायो। अरु दलले पनि भूकम्प प्रभावित क्षेत्रमा आफ्ना कार्यकर्ता झण्डा नै बोकाएर पठाएका थिए।

तर, विश्वप्रकाशले झापामै घोषणा गरे, ‘हामी भूकम्पबाट भत्किएका घर बनाउन जाँदा पार्टीको झण्डा बोकेर जादैनौं।’ उनले कांग्रेससँगै एमाले, माओवादी, लिम्बुवान, राप्रपा र अरु दलका कार्यकर्तालाई मिलाएर जाने अवधारणा बनाए।

कांग्रेसले मात्रै राजनीतिक रुपले काम गर्दा सबै पक्षलाई समेट्न गाह्रो हुन्थ्यो। उनले आग्रह गरे, कांग्रेसकै महाधिवेशन प्रतिनिधि विजय डालमियालाई। उनी मेची उद्योग वाण्ज्यि संघका अध्यक्ष थिए।

डालमियाको संयोजन र विश्वप्रकाशको अवधारणा बमोजिम नै ‘मेची अभियान’को टोली एक सातापछि करोडौं रुपैयाँको चामल, दाल, टेण्ट लगायतका सामग्रीसहित भूकम्पबाट अति प्रभावित धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र रसुवामा ८ ट्रक राहत सामग्रीसहित पुग्यो।

कोही टेण्ट बोकेर, कोही पाल बोकेर र कोही खाद्यान्न बोकेर भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए। र, अरु जिल्लाबाट दलका नेता–कार्यकर्ता आ–आफ्नै तरिकाले गएका थिए। तर, विश्वप्रकाशको टिमको दृश्य अलि फरक थियो।

डालमियाको संयोजकत्वमा रहेको उक्त समूहले सबै दल मिलेर गैरराजनीतिक रुपमा सहयोग जुटाउन थाल्यो। जसको नाम थियो, मेची अभियान। भूकम्प प्रभाावित क्षेत्रमा मेची अभियानको कार्यशैली अरुकोभन्दा फरक थियो। किनभने अन्य समूहमा आ–आफ्नै पार्टीका नेता–कार्यकर्ता थिए। मेची अभियानमा सिङ्गो पूर्वले प्राकृतिक विपत्तिमा एकता र भ्रातृत्वको सन्देश दिएको थियो।

‘व्यापारीसँग नमाग्नु, नेता–कार्यकर्ता मिलेर एक लाख रुपैयाँ बराबरको घर बनाई दिनुपर्छ। र, २०७० साल चैत्र मसान्तका दिन त्यो घर हस्तान्तरण गर्नुपर्छ।’

दृष्टिविहीनलाई घर उपहार

झापा जिल्लाको गौरादह एमाले अध्यक्ष केपी ओलीले विगतमा पटक–पटक चुनाव जितेको ठाउँ मध्येको एक हो। त्यही गौरादहमा राम र लक्ष्मण नाम गरेका दुई युवा बस्थे। आँखाको ज्योति गुमाएका ती दुई युवाले संसारलाई देखे। सायद संसारले उनीहरुलाई देखेन।

संयोगवशः एकदिन विश्वप्रकाशले जब राम र लक्ष्मणलाई भेटे, उनले नेपाली कांग्रेसका स्थानीय नेता पुण्य सिग्देललाई सहयोगका लागि आग्रह गरे। विश्वप्रकाशको आग्रहमा सिग्देलले राम र लक्ष्मणका लागि ८ धुर जग्गा दिने भए।

सोही जमीनमा उभिएर विश्वप्रकाशले कांग्रेस गाउँँ सभापति हेमन्त कार्कीलाई ३ हजार रुपैयाँ दिँदै भने, ‘व्यापारीसँग नमाग्नु, स्थानीय नेता–कार्यकर्ता मिलेर एक लाख रुपैयाँ बराबरको घर बनाई दिनुपर्छ। र, २०७० साल चैत्र मसान्तका दिन त्यो घर हस्तान्तरण गर्नुपर्छ।’

चैत्र मसान्तका दिन घर हस्तान्तरण गर्दा नयाँ वर्षका दिन ‘ह्याप्पी न्यू इयर’ भन्दै उनीहरुले आफ्नै घरमा ब्यूझिँन पाउनेछन्। सोही योजना अनुरुप दृष्टिविहीन राम र लक्ष्मणले आफ्नो घर पाए। २०७० सालको चैत्र मसान्तमा निर्माण सम्पन्न भएपछि विश्वप्रकाश र कांग्रेस झापा सभापति उद्धव थापाले घर हस्तान्तरण गरे।

२०७१ सालको पहिलो बिहानी राम र लक्ष्मणका लागि सुनौलो बिहानी भयो। उनीहरु आफ्नै घरमा ब्यूझिँए, ह्याप्पी न्यू इयर भन्दै। दुई कोठे सिमेन्टेड घरमा अहिले पनि ती दाजुभाई खुशीसाथ बस्छन्।

विश्वप्रकाशहरुकै अगुवार्इमा मेचीनगरमा एउटा अनौपचारिक मञ्च सक्रिय छ। त्यो अनौपचारिक मञ्चले कयौंको जीवनहरु बँचाएको छ।

त्यस्तै, अर्को उदाहरणका रुपमा मेचीनगर नगरपालिका–७ का राजन गिरीको परिवारलाई पनि लिन सकिन्छ। घरमा आगलागी भएर एकैछिनमा उनको परिवार छानोविहीन भयोे। गिरीको घर जलेको भोलिपल्टै नेपाली कांग्रेसका नेता कार्यकर्ता एकाबिहानै उनका घरमा पुगे, एक लाखभन्दा धेरैको राहत सामग्री बोकेर।

उनीहरुमध्ये कसैले खन्न थाले, कसैले टिन ठोक्न र बाराबेरा गर्न थाले। कसैले बाँसको जोहो गरे। सबैजना एकसाथ काममा जुटे। र, बिहान ६ बजे शुरु गरेको घर निर्माण कार्य साँझ ९ बजे सम्पन्न गरे। र, गिरी परिवारलाई घर मात्रै दिएनन्, खाट, दराज, चामल, दाल, लुगाकपडा लगायत सबै सामग्रीको जोहो पनि गरिदिए। र, विश्वप्रकाशको नेतृत्वमा रहेको टोली राति १० बजेतिर काम सकेर फर्कियो।

त्यति बेला उनले कही कसैलाई भनेनन्। प्रचारबाजी गरेनन्। तर, झापाबाट प्रकाशित हुने अखबारमा भोलिपल्ट प्राथमिकताका साथ उक्त समाचार प्रकाशित भयो। पछाडि चर्चा चल्यो, एमाले कार्यकर्ताको घर कांग्रेस युवा नेता विश्वप्रकाश शर्माको अगुवाईमा बनाइयो भन्ने। गिरी एमाले कार्यकर्ता रहेछन्। तर, विपत्तिमा परेका बेला गिरीको छानो टाल्ने काम विश्वप्रकाश शर्माले नै गरे।

सुदय र उमेशले फेसबुकमा अपील गरे। १० दिनभित्रै १२ लाख रुपैयाँ संकलन भयो। पूजाको उपचार भेल्लोर लगेर गरियो।

मानवीय सेवामा तल्लिन

विश्वप्रकाश शर्माहरुकै पहलमा झापाको मेचीनगरमा एउटा अनौपचारिक मञ्च सक्रिय छ। त्यो अनौपचारिक मञ्चले कयौंको जीवनहरु बँचाएको छ। त्यसमध्येकी एक हुन्, गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिएकी पूजा उराऊ।

केही वर्षअघि सुदय पनेरु र उमेश सुवेदीका हातमा एक हजार रुपैयाँ थमाइदिएर विश्वप्रकाशले भने, ‘तपाईहरु संयोजक हुनुभयो, यी बालिकालाई बँचाउनु पर्छ, हामी सबै मिलेर उपचारको व्यवस्था गरौं।’ सुदय र उमेशले फेसबुकमा अपील गरे। १० दिनभित्रै १२ लाख रुपैयाँ संकलन भयो। पूजाको उपचार भेल्लोर लगेर गरियो।

उपचारपछि उनी ६ वर्षसम्म बाँचिन्। उनका अभिभावकलाई दिनका लागि बैंकको खातामा अझै ४ लाख रुपैयाँ बाँकी छ। तर, पूजा चाहिँ अब संसारमा रहिँनन्। यस्ता थुप्रै बालबालिकालाई यसरी नै बँचाएका उदाहरणहरु प्रशस्तै छन्।

विश्वप्रकाशको अवधारणामा सम्पन्न प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव नेपाली चिकित्सा सेवाका लागि पृथक प्रयोगको अनुपम उदाहरण थियो।

नेपालमै नौलो प्रयोगः स्वास्थ्य महोत्सव

विश्वप्रकाश शर्मा राजनीतिज्ञ मात्रै होइनन्, उनी सामाजिक अभियन्ता पनि हुन्। उनले नेपालमा पटक नौलो प्रयोग गरे, झापाको मेचीनगरमा। विश्वप्रकाशको अवधारणामा सम्पन्न प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव नेपाली चिकित्सा सेवाका लागि पृथक प्रयोगको अनुपम उदाहरण थियो।

जहाँ २७ वटा अस्पतालका २ सयभन्दा धेरै डाक्टरहरुलाई एकै ठाँउमा भेला गराइयो। दलगत रुपमा नभई, पार्टीको झण्डा नफहराई स्वतन्त्र रुपमा महोत्सवको आयोजना गरिएको थियो। जसको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो। महोत्सवमा झण्डै २४ हजार सर्वसाधारणको उपचार गरिएको थियो।

६ वटा ल्याव निःशुल्क सञ्चालन गरिएको थियो। इको कार्डियोग्राम, इसिजी, अल्ट्रासाउण्ड जस्ता अत्याधुनिक मेसिनको प्रयोग पनि गरिएको थियो। पुर्जी पनि निःशुल्क थियो। यसरी सात दिन स्वास्थ्य महोत्सव गरिरहँदा उपचार मात्रै गरिएन, निःशुल्क औषधि मात्रै वितरण गरिएन, विभिन्न स्वास्थ्य समस्याका विषयमा अन्तरक्रिया पनि गरियो।

‘लागूपदार्थको दुर्व्यसनीमुक्त क्षेत्र कसरी निर्माण गर्न सकिन्छ’ भन्ने विषयमा पनि छलफल गरिएको थियो। स्वास्थ्य जीवनका लागि स्वस्थ तरकारी, स्वस्थ समाजका लागि स्वस्थ राजनीति’, स्वस्थ समाजका लागि स्वस्थ साहित्य लगायतका थुप्रै विषयहरुमा विज्ञहरुसँग छलफल गरिएको थियो। ‘स्वास्थ जीवनका लागि स्वस्थ तरकारी’का बारेमा छलफल गर्दा कृषिमा आधुनिक प्रणालीको विषयमा समेत छलफल गरिएको थियो।

विश्वप्रकाशले लेखेका र संगीत गरेका गीतहरु अञ्जु पन्त, राजेशपायल राई, प्रमोद खरेल, आनन्द कार्की, सुकमित गुरुङ लगायतका गायकले गाएका छन्।

सांगीतिक र साहित्यिक जीवन

विश्वप्रकाश बहुआयामिक राजनीतिज्ञ हुन्। उनी गीतसंगीतको रचना पनि गर्छन्। विश्वप्रकाशको सम्बोधनमा जुन श्रृतिमधुरता पाइन्छ, उनी उत्तिकै जादुमयी गीतसंगीत सिर्जना गर्छन्।
फुर्सदको समयलाई कसरी सदुपयोग गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म त्यतिकै धुन गुन्गुनाएर बसिरहन्छु। संगीत साधनामै समय लगाउँछु।’

विश्वप्रकाशले लेखेका र संगीत गरेका गीतहरु अञ्जु पन्त, राजेशपायल राई, प्रमोद खरेल, आनन्द कार्की, सुकमित गुरुङ लगायतका गायकले गाएका छन्। नेपालमा आयोजना हुने जेसीजका कार्यक्रममा बजाइने जेसीजको शीर्ष गीतको शब्द र संगीत विश्वप्रकाशकै हो।

मुलुकका मुख्य अखबारहरुमा नियमित स्तम्भ लेख्ने विश्वप्रकाशका कथा, कविता र निबन्ध संग्रह प्रकाशोन्मुख छन्।

विश्वप्रकाश विगत एक दशकदेखि काठमाडौं छोडेर झापामै गएर बसेका छन्। त्यहीनेर भिँडेका छन्, त्यही बसेका छन्। हारे होलान् त्यही। अनि, जित्न चाहिँरहेका छन् त्यही।

जिल्लामै बसेर जनताको सेवा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको राजनीतिक यात्रा छुट्टै छ। नेपालका प्रायः सबै राजनीतिज्ञ राजधानीमै बस्छन्। नेपाल सरकारका पूर्वमन्त्री, पूर्वसचिव आदिको बसाई राजधानीमै केन्द्रित हुने गर्छ। निधन पनि काठमाडौंमै हुन्छ।

हो, गाउँबाट काठमाडौं आएर बस्न सजिलो हुन्छ। तर, विश्वप्रकाश विगत एक दशकदेखि काठमाडौं छोडेर झापामै गएर बसेका छन्। त्यहीनेर भिँडेका छन्, त्यही बसेका छन्। हारे होलान् त्यही। अनि, जित्न चाहिँरहेका छन् त्यही। सेवा गरिरहेका छन् त्यहि। र, मर्न चाहिँरहेका छन् त्यही।

बाहुनडाँगीमा हात्ती आतंक नियन्त्रण गर्न पनि विश्वप्रकाश पुगेकै हुन्छन्। बाढीको वितण्डासँग जुध्न पनि उनी पुगेकै हुन्छन्। जहाँ–जहाँ समस्या पर्छ विश्वप्रकाश रचनात्मक समाधानका साथ पुग्छन्। विश्वप्रकाशले हात्ती आतंक नियन्त्रण गर्न निरन्तर पहल गरेका स्मरण गर्छन्, बाहुनडाँगीका स्थानीयबासी वीरबहादुर परियार।

विश्वप्रकाशकै योगदानको प्रतिफल स्वरुप हात्तीको प्रताडनाबाट मुक्त भएको परियारले बताएका छन्। उनले शुभदिनसँग भने, ‘विश्वप्रकाश शर्माले अघिल्लो पटक चुनाव हार्नु भयो, तर हात्ती नियन्त्रणका लागि पहल गरेर हाम्रो मन जित्नु भयो, यस पटक झापा क्षेत्र नम्बर एकबाट हामी विश्वप्रकाशलाई जिताएरै पठाउँछौं।’

बाहुनडाँगीबासीको आर्शिवाद र सद्भाव त छँदै छ, विश्वप्रकाशले गरेका काम र आगामी योजनाका कारण झापा क्षेत्र नम्बर–१ का बासिन्दाले उनलाई प्रनितिधिसभा सदस्यका लागि आफ्नो मत प्रदान गर्दै छन्। झापा क्षेत्र नम्बर–१ मा रिङरोडको परियोजना पनि उनले निर्माण गरेका छन्।

नेपाली राजनीतिक आन्दोलनमा लामो समयदेखि योगदान दिँदै आउनु भएको छ, झापा–१ बाट उहाँको विजयी सुनिश्चित गराउन हामी सबै युवा लागेका छौं।’

युवाका लागि आशा हुन् विश्वप्रकाश

विश्वप्रकाश निडर र स्पष्ट वक्ताका रुपमा चिनिएका नेता हुन्। उनी पार्टीभित्र भएका गलत निर्णय र गलत कदमलाई खुलेरै विरोध गर्छन्। संविधान निर्माणपछि बनेको सरकारका लागि सुशील कोइरालाले उम्मेद्वारी दिएपछि विश्वप्रकाशले सार्वजनिक रुपमै विरोध जनाएका थिए।

‘अब संविधान लेख्न महत्वपूर्ण भूमिकामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको पालो हो,’ उनले भनेका थिए, ‘उहाँ (सुशील कोइराला)ले उम्मेदवार दिने होइन, बाटो खुल्ला गर्नुपर्छ।’

विश्वप्रकाशले चितवनको भरतपुरमा निर्वाचनमा पुनः मतदानको विरोध गरे। मतगणना अगाडि बढाउन उनले माग गरेका थिए।

जतिबेला भारतीय नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त थियो, नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेन। तर, विश्वप्रकाशले नाकाबन्दीको सशक्त ढंगले विरोध गरे।

त्यस्तै, मधेशमा चलेको आन्दोलनका दौरान विश्वप्रकाश ९ सदस्यीय टोली लिएर मधेशका आठ वटै जिल्लामा पुगे, जिल्लास्तरीय भेला गराए। विपी कोइराला र पुष्पलाल श्रेष्ठका शालिक भत्काइएका ठाउँहरुमा शालिक बनाउन लगाए। र, जलाइएका पार्टी कार्यालयहरुको पुनर्निर्माणमा जुट्न आग्रह गरे।

‘विश्वप्रकाश शर्मा अरु राजनीतिक नेता कार्यकर्ताभन्दा फरक हुनु हुन्छ, नेपाली राजनीतिक आन्दोलनमा लामो समयदेखि योगदान दिँदै आउनु भएको छ,’ सामाजिक अभियन्ता एवम् लेखक निरज साम्पाङले शुभदिनसँग भने, ‘झापा–१ बाट उहाँको विजयी सुनिश्चित गराउन हामी सबै युवा लागेका छौं।’

‘ध्यान साधना मानव जीवनलाई सन्तुलिन बनाउने एक मात्र विधि हो, त्यसैले मानवीय सेवामा इट्टा थप्ने प्रयास गरेका हौं।’

ध्यान केन्द्रलाई ८० लाख बराबरको जमीन

विश्वप्रकाश शर्मा देवताका रुपमा आफ्ना आमाबुवालाई मान्छन्। आमा स्व. साावित्री शर्मा र बुवा स्व. परशुराम शर्माको सम्झनामा ध्यान केन्द्र स्थापनाका लागि दाजुभाइ राज्यप्रकाश र विश्वप्रकाशले ८० लाख रुपैयाँ बराबरको ५ कठ्ठा जग्गा प्रदान गरेका छन्।

ब्रम्हकुमारी राजयोग सेवाकेन्द्रले ध्यान केन्द्र सञ्चालन गर्ने छ। ‘ध्यान साधना मानव जीवनलाई सन्तुलिन बनाउने एक मात्र विधि हो,’ विश्वप्रकाशले शुभदिनसँग भने, ‘त्यसैले हामीले मानवीय सेवामा इट्टा थप्ने प्रयास गरेका हौं।’

‘राजनीतिबाट बिदा लिँँदै गर्दा शीर झुकाउनु नपरोस् भनेर नै राजनीतिक दलका हरेक नेता–कार्यकर्तालाई उद्यमशील बनाउनु पर्छ भन्ने मेरो अवधारणा हो।’

तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि

नेपाली राजनीतिक आन्दोेलनमा लामो समय खर्चिएकाहरु पनि भ्रष्टाचारको अभियोगमा जेल बसेका दृष्टान्तहरु छन्। काठमाडौंमा डेरामा बसेर पढ्ने विद्यार्थी नेतालाई आयस्रोत के हो भनेर सोध्दा भन्न सक्दैनन्। तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा त्यस किसिमका प्रवृतिप्रति सचेत छन्।

विश्वप्रकाशले अवधारणा नै बनाएका छन्, तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि। उनी भन्छन्, ‘पछि राजनीतिबाट बिदा लिँँदै गर्दा शीर झुकाउनु नपरोस् भनेर नै राजनीतिक दलका हरेक नेता–कार्यकर्तालाई उद्यमशील बनाउनु पर्छ भन्ने मेरो अवधारणा हो।’

विश्वप्रकाश राजनीतिसँगै व्यवसायमा पनि सक्रिय रहन्छन्। झापाको मनकामना बहुमुखी क्याम्पसमा उनको शेयर छ। काठमाडौं नयाँ बानेश्वरस्थित अल्फबिटासँँगै गाँँँसिएको बिल्डिङमा मेक माई ट्रिप ट्राभल्स सञ्चालनमा रहेको छ।

‘तत्कालीन तनावबाट मुक्ति दिनुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर डाक्टरसँगै औषधि पनि लगिएको हो।’

बाढीपीडितलाई मल्हम

यो साल वर्षा शुरु हुनासाथ तराई–मधेशमा भीषण बाढी आयो। उद्दार र राहतका लागि विश्वप्रकाशको टिमले सक्रिय भूमिका निभाएको थियो। बाढीपीडितका लागि अधिकांशले चामल, दाल लिएर गए।

तर, विश्वप्रकाशहरुले जाँदै गर्दा चामल, दाल, तरकारी, ब्ल्याङ्केट, पेस्ट, ब्रस मात्रै लगेनन्, मनोचिकित्सक पनि साथै लिएर गए। ‘तत्कालीन तनावबाट मुक्ति दिनुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर डाक्टरसँगै औषधि पनि लगिएको हो,’ उनले भने, ‘केही ठाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो।’

काठमाडौंमा डेरामा बसेर पढ्ने विद्यार्थी नेतालाई आयस्रोत के हो भनेर सोध्दा भन्न सक्दैनन्। तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा त्यस किसिमका प्रवृतिप्रति सचेत छन्। 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: